बीरगनज,३० जेठ । धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित नौ सय बिघा क्षेत्रमा विद्युतीय ट्रान्सफर्मर चोरीको प्रयाससँग सम्बन्धित रहेको आशङ्कामा प्रहरीले भारतीय नम्बर प्लेटको एक कार नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय उमाप्रेमपुरका अनुसार शुक्रबार राति करिब १ बजे नियमित गस्तीका क्रममा सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर पोलबाट तल झारिएको अवस्थामा फेला परेको थियो। सोही आधारमा अनुसन्धान अघि बढाउँदा घटनास्थल नजिकै बेवारिसे अवस्थामा बीआर ०१ इके ४०२४ नम्बरको कार भेटिएको हो।
प्रहरीले कार जाँच गर्दा ट्रान्सफर्मर चोरीमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको जनाएको छ। कारको डिक्कीबाट तामाको तार, ट्रान्सफर्मरको तेल, काठका टुक्रा तथा ट्रान्सफर्मर खोल्न प्रयोग गरिने औजारहरू फेला परेका छन्।
त्यसैगरी, कारभित्र एनटिसी सिमसहितको मोबाइल फोन, विक्कीकुमार साह सोनार नामको सवारी चालक अनुमतिपत्र र विभिन्न मितिका भन्सारसम्बन्धी कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




