बीरगन्ज,२२ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रामा रहेको त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रीमा शुक्रबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा आएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब १०:४० बजे फ्याक्ट्रीभित्र विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो। सूचना पाएलगत्तै सुरक्षाकर्मी, दमकल र स्थानीय टोली परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी निरीक्षक तेजनारायण वैठाको नेतृत्वमा ६ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना तथा औद्योगिक सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको नेतृत्वमा ५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
आगो नियन्त्रणका लागि जितपुरसिमरा, कलैया, नेपाल आयल निगम अमलेखगञ्ज र बीरगन्ज महानगरपालिकाका दमकलसहित थप कोल्हवी, सखुवा प्रसौनी, निजगढ, गढीमाई, माइक्रो पोलिसियन बीरगन्ज, तथा नेपाली सेना रिपुमर्दन गण कलैया र श्रीजंग गण पर्साबाट समेत दमकल मगाइएपछि कुल १२ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक बिकाल सिल्वाल र प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्री लगायत उच्च सुरक्षा अधिकारीहरू घटनास्थलमा खटिएका थिए।
स्थानीय, सुरक्षाकर्मी र दमकलको संयुक्त प्रयासमा आगो दिउँसो करिब १२:३० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगलागीबाट करिब १८० टन कपास, गोदाम भवन, कन्डेन्सर तथा विभिन्न मेसिनरी उपकरणहरू जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।




