काठमाडौं,३० जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफू देशप्रतिको गहिरो प्रेमका कारण निरन्तर गाली र अपमान सहनुपरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने व्यक्तिको रूपमा अनुभूति भएको बताए।
उनले भने, “यो देशलाई माया गर्दा संसारभरबाट गाली खानुपरेको छ। अहिले मलाई सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति म नै हुँ। मैले यो सबै किन सहनुपरेको छ भने म देशलाई अत्यन्तै माया गर्छु।”
साम्पाङले देशप्रतिको भावना व्यक्त गर्दै आफू धेरैपटक भावुक भएको पनि बताए। “देश सम्झेर धेरै पटक रोएको छु, हाँसेको पनि छु। हाँसे पनि देशसँगै, रोए पनि देशसँगै। देश बिर्सिएर एक पल पनि बाँच्न चाहन्नँ,” उनले भने।
आफूमाथि हुने आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले व्यंग्यात्मक शैलीमा भने, “मलाई माटोमा मिलाउँछु भन्छन्, तर म आफैं माटो हुँ।” उनका अनुसार धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेका थिए भने अहिले त्यो संख्या बढेर करिब १० हजार पुगेको छ।
“पहिले एक हजार गाली आउँथ्यो, अहिले १० हजार गाली आउँछ। मलाई गाली गर्ने सबैलाई सम्मान र माया छ,” उनले भने।
साम्पाङले आफू आफ्नो बाटोमा निरन्तर अघि बढ्ने र आलोचना तथा विरोधबाट विचलित नहुने उल्लेख गर्दै “अन्ततः जित मेरो हुनेछ” भन्ने दाबी समेत गरे।




