सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

जनकपुरधामको राराब क्याम्पसमा २ हजार ६६२ जनाले गरे मतदान

सिफारिस

जनकपुरधाम, ५ चैत । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ४ बजे सम्पन्न भएको थियो ।

- Advertisement -

 

पटकपटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आइतबार भएको स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी संगठनसम्म उत्साही देखिएका थिए।

- Advertisement -

उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी संगठनहरू निर्वाचनका लागि झनै उत्साही भएका थिए । देशभरका त्रिविका ६२ आङ्गिक क्याम्पस र १ हजार ४० क्याम्पसमा एकैदिन भएको निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको थियो ।

 

यसैबिच, जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका चयनका लागि आइतबार शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । स्ववियुको नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराबमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जना विद्यार्थीले आ–आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

 

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।

 

लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादव सभापतिका उम्मेदवार छन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन् ।

 

त्यस्तै, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिशेक साह सभापतिका उम्मेदवार छन् ।

 

राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् । लोसपा विद्यार्थी संघबाट सभापतिका उम्मेदवार प्रशान्त झाले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी आकर्षण घटेको बताए । उनले १४ वर्षपछि भएको स्ववियु निर्वाचनका कारण विद्यार्थीहरू उत्साहित भएको बताए ।

 

नेपाल विद्यार्थी संघबाट सभापतिका उम्मेदवार मनिषकुमार यादवले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए । सबै विद्यार्थीको एक मात्र एजेण्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ । उनले स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने दाबी गरे ।

 

विद्यार्थी जनमत संघको तर्फबाट सभापतिका उम्मेदवार इजाज मोमिनले विद्यार्थी संगठनहरू स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए ।

 

विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।

 

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि.सं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो ।

 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी संगठनको सहयोगका कारणले निर्वाचन सम्भव भएको बताए ।

 

केही क्याम्पसमा विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको समेत अधिकारीले बताए ।

 

स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले तालमेल गरेका थिए ।

 

स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको थियो । वि.सं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको थियो ।

 

मतदानस्थलमा पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ्ग, मसी लैजान निषेध गरिएको थियो । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको थियो ।

 

१० क्याम्पसमा निर्वाचन भएन

 

विद्यार्थी संगठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय त्रिविअन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा निर्वाचन हुन सकेको छैन ।

 

विद्यार्थी संगठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको थियो ।

 

स्ववियुको निर्वाचन गराउने त्रिविअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भयो ।

 

त्यस्तै, आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरी बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि निर्वाचन भएन ।

 

यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ ।प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जनाए ।

 

निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गरेका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले जानकारी दिए । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिएको छ ।

 

उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२÷१२ विद्युतीय मेसिन प्रयोग गरिएको थियो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -