वीरगन्ज,१४ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले वर्तमान सरकारप्रति कडा असन्तुष्टि जनाउँदै यसलाई “पूर्ण रूपमा असफल” भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारले गरिबवर्गप्रति देखाएको व्यवहारको आलोचना गरेका हुन्। “सरकार असफल भइसकेको छ, अब अवसान मात्रै बाँकी छ,” उनले लेखेका छन्, “गरिबको गाँस खोस्ने र बास भत्काउने सरकार असफल सरकार हो।”
साम्पाङले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले बल प्रयोग गरेकोप्रति आपत्ति जनाउँदै त्यसलाई अमानवीय कार्यको संज्ञा दिएका छन्। उनका अनुसार गरिबमाथि बल प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत हो।
उनले गरिबलाई दमन गर्न सुरक्षाकर्मी परिचालन गर्नु अनुचित भएको उल्लेख गर्दै यस्तो कार्य गर्ने सरकारलाई लोकतान्त्रिक भन्न नमिल्ने दाबी गरे। साथै, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई चुनौती दिँदै उनले गरिबलाई बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन्।
साम्पाङले आम नागरिकलाई पनि सरकारको खुलेर विरोध गर्न आह्वान गर्दै वर्तमान अवस्थामाथि प्रश्न उठाएका छन्— “नेता महलमा बस्ने र जनता सडकमा रहने यही देश हो त?” उनले भने।

