वीरगन्ज,१४ वैशाख । वीरगन्जमा मुख्य कार्यालय रहेको स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि २० प्रतिशत शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। कम्पनीको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो।
कम्पनीका अध्यक्ष प्रतिक अग्रवालको अध्यक्षतामा बसेको सभाले कुल जारी पूँजीको २० प्रतिशत बराबर शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको हो। साथै, आईपीओसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिइएको छ भने संस्थापक समूहको बाँकी शेयर प्रिमियममा बिक्री गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीले वीरगन्जको आदर्शनगरमा ‘स्काइलाइन मॉल’ अन्तर्गत आधुनिक बहुउद्देश्यीय ९ तले व्यावसायिक भवन सञ्चालनमा ल्याइसकेको छ। उक्त भवनमा भुईँ तलामा ब्रान्डेड पसलहरू, पहिलो तलामा क्यासिनो, दोस्रो तलामा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा छन्।
तेस्रो तलादेखि माथि सरोवर समूहको व्यवस्थापनमा चारतारे स्तरको होटल सञ्चालनमा रहेको छ, जहाँ करिब ६० कोठा, रेष्टुरेन्ट, बैंक्वेट हल, सम्मेलन कक्ष र रुफटप रेष्टुरेन्टजस्ता सुविधा उपलब्ध छन्।
कम्पनीले ‘स्काइलाइन मॉल’ लाई आधुनिक व्यापारिक केन्द्रका रूपमा विकास गर्दै वीरगन्जलाई नयाँ व्यापारिक हब बनाउने लक्ष्य राखेको छ। २०८१ सालदेखि सञ्चालनमा आएको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा मुनाफा कमाउन थालेको र नेटवर्थ सकारात्मक रहेको जनाएको छ।
हाल कम्पनीको कुल पूँजी १७५ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको छ। आईपीओ निष्काशनपछि कम्पनीको पूँजी विस्तार भई परियोजनाहरूलाई थप गति दिने अपेक्षा गरिएको छ।

