जनकपुरधाम, ६ चैत । जनकपुरधामको बहुप्रतिष्ठित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार मनिषकुमार यादव निर्वाचित भएका छन् ।
सभापतिमा यादवले १ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् ।त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार गौतम कुमार यादवले ११८ मत मात्र ल्याउन सकेका छन् ।
स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मत खसाएका थिए ।
राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए ।
राराबको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिएका छन् ।