spot_img

नेपालगञ्ज: चालु आवमा ५४ प्रतिशत राजश्व संकलन

spot_img
spot_img

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५४ प्रतिशत राजश्व संकलन गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको १४ औं अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्वतर्फ १९ करोड अनुमानित आय रहेकोमा हालसम्म १० करोड २७ लाख ४१ हजार रुपैयाँ संकलन भएको जनाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा चालूतर्फ ३२.७ प्रतिशत, पूँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३.८१ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ। भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्य अनुरुप इएफटीमार्फत सम्बन्धित खातामा नै भुक्तानी गर्ने व्यवस्था, घरदेखि अस्पतालसम्म २४ घण्टे निःशुल्क सञ्चालित एम्बुलेन्स सेवामार्फत हालसम्म २५० जना लाभान्वित, स्थानीय पाठ्यपुस्तक निर्माण र कार्यान्वयन, सूचना प्रविधिमैत्री शिक्षण सिकाई, बालविवाहमुक्त उपमहानगरपालिका दिगोपनाका लागि निरन्तर अभियान सञ्चालन, सहकारी अनुगमन, बजार अनुगमन, इएफटीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बागेश्वरी मन्दिर परिसरमा साप्ताहिकरुपमा सन्ध्याकालीन महाआरती सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ।

प्रगति विवरणमा सहरका मुख्य सडकको निरन्तर सरसफाई, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रभावकारीरुपमा सञ्चालन, वडा नम्बर ३ र ७ मा समुदायस्तरमा आगलागी, भूकम्प लगायत विपदका विभिन्न स्वरुपसम्बन्धि पूर्व घटना अभ्यास, कमजोर भौतिक संरचनाको प्रबलीकरण, आपतकालीन कार्यसञ्चालन निर्देशिका २०८०, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, व्यवसायिक निरन्तरता योजना २०८०, विपद जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० र नगर विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० निर्माण भई कार्यान्वयनमा रहेको जनाइएको छ। १०८ फिट अग्लो हनुमानको मूर्ती, बागेश्वरी मन्दिरमा जुंगे महादेवको मन्दिर तथा पुल स्तरोन्नति लगायतका कामहरु निर्माणको चरणमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।

नगर प्रमुख प्रशान्त विष्टले नगरसभाको १४औं अधिवेशनको पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत एवम् सभा सचिव ओमबहादुर खड्काले स्वागत मन्तब्य व्यक्त गरेको अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले प्रगति विवरण सभासमक्ष प्रस्तुत गरेका थिए। नगरसभाको उद्घाटनसत्रमा नगर सभा सदस्य एवम् प्रबक्ता प्रमोद रिजाल, नगरसभा सदस्यहरु राजकुमार साहु, दीपककुमार बर्मा, गोपाल पुन, कौशलकुमार धोबी र मनोजकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

नगर प्रमुख विष्टले नगरसभाको एजेण्डा प्रस्तुत गरेका थिए। विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका चालू आर्थिक बर्षमा सञ्चालन हुने थप योजनाहरु स्वीकृति, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताब पेश गरेका थिए। ती प्रस्ताबहरु सर्वसम्मतिले पारित भएका छन्।

अधिवेशनको खुला छलफलमा नगरसभा सदस्यहरु बर्मा, नन्दकिशोर कश्यप, सराफत खाँ, चक्रबहादुर बुढा, दिग्विजय ढुंगाना, अरुणकुमार मिश्र र विनोदकुमार रस्तोगीले बोलेका थिए। नगरसभामा ज्ञात अज्ञात सहिद तथा शुक्रबार राती नेपालगञ्जबाट काठमाण्डौ जाने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा निधन भएकाहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो।

उद्घाटन सत्रको सञ्चालन बरिष्ठ अधिकृत खिमानन्द अर्यालले गरेका थिए। नगरसभामा २३ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, २३ वटै वडाका वडा सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका सम्पूर्ण शाखा तथा महाशाखाका प्रमुख एवम् कर्मचारीहरु उपस्थित थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय