सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

पर्साको कम्युनिष्ट आन्दोलन र अनुत्तरित प्रश्न: बाल गोपाल थापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वि.स २०३९ साल मेरो जीवनमा दुईवटा महत्वपूर्ण घटना घटे । पहिलो, त्रिभूवन विश्व विद्यालयको सहायक प्राध्यापकमा मेरो नियुक्ती । त्यो पनि आफैं पूर्व अध्ययनरत ठाकुरराम बहुमुखी क्याम्पसमा पदस्थापन । दोस्रो, तात्कालिन भूमिगत नेपाल कम्युनिष्ट पार्टी (मा.ले.) सँगको विधिवत राजनीतिक सम्पर्क । पञ्चायत कालमा राजनीतिक दलहरु प्रतिबन्धित थिए तापनि भूमिगत अवस्थामा रहेर पार्टी र नेताहरु क्रियाशिल थिए । सम्झना भए अनुसार, वीरगञ्ज आदर्शनगर स्थित क. विजय सिलवालको घर, राजनीतिक आश्रयस्थल थियो । त्यहाँ नेकपा (मा.लें) का पर्सा जिल्लाको राजनीतिक काम हेर्ने जिम्मेवारी पाउनुभएका भूमिगत नेता सुर्य थापा (जगत) सँग मेरो पहिलो सम्पर्क भयो । त्यसैदिनबाट कम्युनिष्ट आन्दोलनमा मेरो जीवनको राजनीतिक र सांगठनिक यात्रा आरम्भ भयो । यो यात्रा आजसम्म नियमित र यथावत नै छ ।

- Advertisement -

तत्कालिन नेकपा (मा.ले)को भूमिगत नेतासँगको सम्पर्कपछि मेरो घरपनि राजनीतिक आश्रयस्थल बन्यो । आश्रयस्थलमा आउने नेताहरु क. मुकुन्द न्यौपाने, क. लक्ष्मण पौडेल, क. काशीनाथ अधिकारी, क. विनोद घिमिरे, क. सुर्य शर्मा, क. रणध्वज कन्दङ्वा हुनुहुन्थ्यो । त्यतिबेला कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु बढो कठिन काम थियो । बढो कडा जाँच पड्तालपछि वर्गीय पृष्ठभूमि र कामको मुल्यांकनको आधारमा दिने चलन थियो । सबै पार्टी सदस्यहरुले अनिवार्य मासिक लेबी शुल्क तिर्नुपर्ने थियो । त्यहि लेबी नै पार्टीको आयस्रोत थियो । त्यसैले पार्टी जीवन चल्दथ्यो ।
संभवत ः २०४३ साल मंसिर महिनाको साँझपख भूमिगत पार्टी नेता क. विनोद घिमिरे (जयन्त) मेरो घर आइपुग्नुभयो । उहाँलाई ज्वरो आएको थियो । थर्मोमिटरले नाप्दा १०१ डिग्री थियो । तुरुन्त सिटामोल खुवाएर आराम गर्न लगाएँ । भोलिपल्ट ज्वरो कम भयो । शरीर कमजोर थियो । त्यतिबेला मलाई भन्नुभयो – ‘तपाईलाई एउटा कामको जिम्मेवारी दिन्छु, लेबी उठाउन गाउँ जानुपर्छ । त्यहाँ साँझ परेपछि मात्रै जानुपर्छ । ’

मैले त्यो जिम्मेवारी स्वीकार गरी गन्तव्यमा साइकल लिएर हिँडे । उहाँले मलाई सम्पर्क गर्नुपर्ने व्यक्ति, पुग्नुपर्ने गाउँ, जाने बाटो र उहाँको घर अनि अपनाउनुपर्ने सतर्कताका बारेमा निर्देशन दिनुभएको थियो । साईकल लिई आफ्नो यात्रा निर्देशित गन्तव्यतिर शुरु गरे । साँझपख क. जयन्तले भनेको बस्तीमा पुगें, त्यो दलित बस्ती थियो । गाउँ भन्दा अलि टाढाको त्यो बस्तीमा अन्य जाती समुदायका व्यक्तिहरु प्रवेश गर्दैन थिए । बस्तीको छेउमा बाँसको झ्याङ् थियो । घरहरु फुस, खर, पतहरले छाएको र माटोले लिपिएका, ती पनि स–साना । म एउटा घरको आँगनमा पुगे । एउटी महिला साँझ पख कुचोले आँगन बढार्दै थिइन् । मैले उहाँलाई सोधे ः ‘क. दुखा हुनुहुन्छ ।’

- Advertisement -

उत्तरमा ‘खेतबाट आउँदै हुनुहुन्छ ।’ भन्ने आयो । सँगै प्रश्न तेर्सियो । ‘तपाई को ? कहाँबाट आउनुभयो ?’ मैले भने ‘म वीरगञ्जबाट आएको । मेरो नाम सुमन हो ।’ सुमन मेरो पार्टीमा राखिएको भूमिगत नाम थियो । सत्कारमा उहाँले मलाई बस्ने बिठई ( परालले बनाएको चकटी) दिनुभयो । जाडोको समय, आँगनमा आगो ताप्नलाई एउटा सानो खोपिल्टो बनाईएको रहेछ । मधेसमा घुर ताप्ने चलन छ । त्यो खोपिल्टोमा घरको छेउ छाउबाट संकलन गरिएको काठको टुक्रा हाल्नुभयो । गाउँघरमा पाइने मिरमिरे भनिने स–साना विरुवाको बुट्टाहरु बटुल्नुभयो । सुकेको पराल समेत हालेर घुरमा आगो सल्काईदनुभयो । अनि लोटामा ताजा पानी चापाकलबाट ल्याईदिनुभयो । साथमा एकटुक्रा मिठा पनि । त्यो मेरो लागि देखे भोगेको भन्दा फरक खालको सत्कार थियो ।

सोध्नुभयो ‘मैले छोएको पानी पिउनुहुन्छ ?’ मैले तत्कालै लोटा लिएर एक टुक्रा मिठा मुखमा हाली पानी पिँए । त्यसपछि जसलाई म भेट्न गएको थिएँ, क. दुखा चापाकलबाट हातखुट्टा धोएर मेरो नजिकै आउनुभयो । अपरिचित व्यक्तिलाई देखेर सोध्नुभयो, ‘तपाई को हो ? कहाँबाट, के कामले आउनुभएको ?’ मैले भने,‘मेरो नाम सुमन हो, वीरगञ्जबाट आएको, मलाई क. जयन्तले पठाउनुभयोे ।’ उत्तर सुन्नासाथ कोदालो र हलो चलाएको ठेला परेको कठिलो हात अगाडि बढाउनुभयो । गर्मजोशका साथ कठिलो हात मिलायौं । मन गर्वित र आनन्दित भयो ।

उहाँले घरभित्र आउन अनुरोध गर्नुभयो । घर एउटै कोठाको, त्यसै भित्र माटोको चुल्हो, एउटा खाट, एउटी बालिका खाटमा सुतिरहेकी थिइन्, छेउमै बाख्राको पाठी बाँधिएको थियो । खाटमुनी बाँसको टोकरी, त्यसभित्र भर्खरै चल्ला कोरलेकी पोथी कर कर कराउँदै थिइन् । प्रकाशका लागि एउटा लालटिन झुण्डिएको थियो । चुल्होको छेउमा डिबिया (टुकी ) पनि बलिरहेको थियो । सिलाभरको दुईवटा डेक्ची, डाडु, पन्यु र दुई वटा सिलाभरकै थाल, पानीको लागि माटोको गाग्रो, पानी पिउने लोटा र बस्नका लागि बिठइ र जुटको बोरा थियो ।

खाटमा बस्न अनुरोध गर्दै जयन्तबारे जिज्ञासा राख्नुभयो । ‘उहाँ आफैं किन आउनुभएन ?’ ‘उहाँलाई ज्वरो आएकोले आउन सक्नुभएन, मलाई पठाउनुभयो ।’ मैले जवाफमा भने । ‘उहाँले गर्ने कामको जिम्मा मलाई दिनुभएको छ ।’ त्यसपछि क. दुखाले घरभित्र झुड्याईएको सिकहरमा राखिएको दौरी भित्र हात हाल्नुभयो । त्यो परेवा बस्ने खोर थियो । त्यसबाट ३० रुपैयाँ निकालेर दिनुभयो र यो जयन्त कमरेडलाई दिनुहोला भन्नुभयो । त्यो ३० रुपैयाँ मैले थापे ।

यो घटनाले मेरो मनमा अनगिन्ति प्रश्न उब्जिन थाल्यो । थाम्न नसक्ने भई प्रश्न तेस्र्याए ।
‘यो के हो ?’
उत्तर आयो ः ‘यो पार्टीको लेबी हो ।’
फेरि सोधे ‘तपाई बनिबुतो गरेर परिवार पाल्ने मान्छे, यसको जुगाड कसरी गर्नुहुन्छ ?’
उत्तर ः ‘पार्टीको नाममा एकजोडी परेवा पालेको छु, उनीहरुबाट जन्मेका परेवालाई बेच्दछु र जति पैसा आउँछ । त्यहि दौरीमा राख्ने गर्दछु ।’
‘कहिलेकाँही तपाईलाई खाँचो पर्दा नी ?’ मेरो जिज्ञासा बढ्दै गयो ।

उहाँको जवाफ यस्तो आयो। ‘जतिसुकै खाँचो परेपनि त्यो पार्टीको सम्पत्ति हो, त्यसलाई मास्दिन, किनभने म र मेरो परिवारभन्दा कम्युनिष्ट पार्टी ठूलो हो । म आफ्नो र परिवारको लागि काम गर्दछु तर पार्टी सम्पूर्ण जनता र देशका लागि काम गरिरहेको छ । मेरो खर्च आफ्नो मेहनत र श्रमले जुट्छ तर पार्टीको खर्च कसले दिने ? पार्टीसँग लागेका सर्मपित कार्यकर्ता जसले निरंकुशता विरुद्ध ज्यान जोखिममा राखी चलाईरहेका छन् । श्रमको लागि श्रमजीविका लागि हो । उनीहरु जीवित भए सामन्तवाद विरुद्ध हामी किसान मजदुरको आन्दोलन जीवित रहन्छ । हाम्रो भविष्य सुरक्षित रहन्छ । यो लेबी म, मेरो परिवार, आम श्रमजीवि जनता, राष्ट्रको हितका लागि हो ।’

उहाँको कुरा सुनेपछि लेबी के हो ? यसको महत्व र भूमिकाबारे छर्लङ्ग भएँ । मेरो सबै जिज्ञासा समाप्त भयो । अनि म घर फर्के, संकलित लेबी जम्मै विनोद कमरेडलाई बुझाँए । भोलिपल्ट उहाँलाई स्नेह पूर्वक विदा गरें । शुन्यबाट आरम्भ भएको पर्सा कम्युनिष्ट आन्दोलन एक हदसम्मको उचाईमा पुग्न सफल भएको छ । यो सर्वहारा श्रमजीवि वर्गलाई गर्वको विषय हो । तर आफूूलाई भन्दा पार्टीलाई माया गर्ने र संकटमा पार्टीलाई जोगाउने यस्ता जयन्तहरु आज कहाँ छन ? उनीहरु आफ्ना योगदान, भूमिका, त्याग समर्पणको मूल्य खोजीरहेका छन् । आधारभूत वर्गीय जनसमुदायहरु आफ्ना भविष्य र हितको सुरक्षा नै कम्युनिष्ट पार्टी हो भनी सर्मपित भई पंक्तीबद्ध र प्रतिबद्ध भई लागे । तर आज उनीहरु सामु कम्युनिष्ट आन्दोलन र पार्टी, बाटो बिराएको कुहिरोको काग भएजस्तै लागेको छ । प्रश्नको घेरामा उभिन पुगेको कम्युनिष्ट पार्टी, आन्दोलन र तिनका नेताहरु, उनीहरुले देखाएको समाजवादको सपना आज कहाँ छ ?

स्वतन्त्रता मात्रै होइन, हामी समानताको पक्षमा छौं भन्ने कम्युनिष्ट पार्टी कता छ ? समाजवादका शत्रु शक्तिलाई समाप्त गर्ने संकल्प बोकेका कम्युनिष्ट पार्टी आज उनैसँगको सहकार्य, गठजोड र सहयात्रा गरिरहेको देख्दा के यस प्रकारको यात्राले समाजवादमा पु¥याउन सक्छ ? कम्युनिष्ट पार्टी सत्तामा रहँदा समाजवाद विरोधी शक्ति, दलाल, नोकरशाही, पुँजीवादी, तस्कर, माफिया, नश्लवादहरुको नै हाली मुहाली हुने, उनीहरुबीच बसेर कम्युनिष्ट पार्टी र तिनका नेताहरु रमाउने हो र समाजवादका मित्रशक्तिहरुलाई बिर्सने हो भने हामीले कम्युनिष्ट पार्टी र समाजवादको नाममा जनतालाई ठगिरहेका छैनौं, आधारभूत वर्गीय जनसमुदायलाई त झुक्याइरहेका छैनौ यी यस्ता अनुत्तरीत प्रश्नहरुको जवाफ नेतृत्व पक्तिले दिनै पर्छ ।
(लेखक थापा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पर्सा जिल्ला अध्यक्ष हुनुहुन्छ।)

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार