सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा बाराबाट एक जना पक्राउ

spot_img

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार बाराबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादव छन् ।

यादवले एक वर्षको अवधिमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार गरेको सीआईबी स्रोतले जनाएको छ । उनले पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो पेमार्फत् ३ करोड ३८ लाखको कारोबार गरेको सीआईबीले जनाएको छ ।

उनी पेवेल र सजिलो भुक्तानी सेवाका बारास्थित एजेन्ट हुन् । उनी पक्राउ परेसँगै पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट गरी पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

यसअघि पेवेलका एजेन्ट बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवर पक्राउ परेका थिए । उनले एक वर्षको अवधिमा ३ अर्ब ३४ करोडको कारोबार गरेको भेटिएको थियो ।

हेर्दा सामान्य देखिने र वैध कारोबार पनि न्यून रहेको उक्त मनी ट्रान्सफरले एक वर्ष अवधिमा झण्डै साढे ३ अर्बको कारोबार गरेको पाइएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि सीआईबीले एकै दिन सजिलो पेवेलका दुई वटा भुक्तानी सेवाका ६ जनालाई पक्राउ गरेको थियो ।सोही दिन सजिलो पेका सञ्चालक सुशील जाकीबञ्जा, कार्यकारी प्रमुख अधिकृत कश्यप मानन्धर र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा पक्राउ परेका थिए ।

उनीहरूमाथि सीआईबीले हुण्डी, सुन तस्करी, तथा क्रिप्टोसँग जोडेर राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर, भन्सार छली तथा चोरीपैठारी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय