spot_img

गढीमाई मन्दिरमा भक्तजनको सुनको सिक्री चोर्ने पर्साका ३ जना चोर पक्राउ

spot_img
spot_img

बीरगन्ज,१८ कार्तिक । बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा श्रद्धालु भक्तजनको गहना र पैसा चोरी गर्ने गिरोह सक्रिय भएको छ। गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा हुने पञ्चवर्षीय गढीमाई मेला असोज १७ गतेदेखि सुरु भइसकेको छ, जसमा मंसिरको तेस्रो सातासम्म पशुबली सहितका विविध पूजा–आराधना आयोजना हुँदैछन्। यस मेलामा पूजा र दर्शनका लागि दैनिक हजारौं श्रद्धालु पुग्ने गर्छन्, जसको मौका छोपेर केही व्यक्ति चोरीमा संलग्न भएको पाइएको छ।

शनिबार बिहान एक दर्शनार्थीको सुनको सिक्री चोरी भएपछि मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी क्यामेराबाट प्रहरीले चोरहरूको पहिचान गरेकाे थियाे। नगर प्रहरीले आइतबार बिहान तिनै जनालाई पक्राउ गरेको हो। शनिबार सिक्री चोरी गरेको गिरोहका ती व्यक्तिहरू आइतबार एकजना भक्तजनको पकेटमा हात हालेर पैसा झिक्दै गरेको अवस्थामा फेरी समातिएका थिए।

पक्राउ पर्नेहरूमा पर्साको वीरगन्ज महानगरपालिका–१६ का शम्भु राय र सन्दिप राय तथा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ का पवन यादव रहेका छन्।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवका अनुसार, पक्राउ परेका तीनै जनालाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ। मेयर यादवले गढीमाई मेलामा सुरक्षाको आवश्यकताको महत्व बुझाउँदै हाल मन्दिर परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र केही दिनमै थप १० वटा क्यामेरा थपिने जानकारी गराएका छन्। भक्तजनको सुरक्षा सुनिश्चित गर्न नगर प्रहरीको निगरानी पनि बढाइएको छ।

दसैंको घटस्थापनादेखि विधिवत रुपमा सुरु गढीमाई मेलामा शनिबार सम्म तीन जना भक्तजनको सुनको सिक्री चोरी भएको मेयर यादवले बताए । ती मध्ये अहिले सम्म चार जना चोर पक्राउ परिसकेको उनले बताए ।

सुनको सिक्री चोरी हुन थालेपछि मन्दिर परिसरमा नगर प्रहरीले निगरानी बढाएको उनले बताए ।

गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका मेयर यादवका अनुसार, मन्दिर परिसरभित्र मात्रै हाल २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।अब केहिदिनमै थप १० वटा सिसिटिभी क्यामरा मन्दिर परिसरभित्रै जडान गरिने उनले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय