काठमाडाैं, १९ पुस । स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउन गठित सुधार समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक शम्भु आचार्यले प्रतिवेदन बुझाएका हुन् ।
समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्न १३ वटा विषयमा केन्द्रित रहेर कार्ययोजनासहितका सुझावहरू प्रतिवेदनमा समेटेको छ । यी सुझावहरूमा नीतिगत, कानुनी, संरचनात्मक सुधार, स्रोत व्यवस्थापन, सेवा विस्तार, प्रिमियम निर्धारण, जोखिम व्यवस्थापन, तीन तहका सरकारबीचको सहकार्य, सेवा सुधार, प्रिमियमका स्ल्याब, प्रिभेन्टिभ कार्य तथा सचेतना वृद्धि, र सुशासन प्रवर्द्धन जस्ता विषयहरू समावेश छन् ।
प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यसले स्वास्थ्य बीमा प्रणाली सुधारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याउने योजना रहेको र दायरा बढाउँदा स्रोत अभावको चुनौती देखापर्न सक्ने भएकाले उपयुक्त विकल्प दिन विज्ञहरूलाई आग्रह गरे ।
मन्त्री पौडेलले समितिले दिएको सुझाव कार्यान्वयनमा मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताए। स्रोतको अभाव मुख्य समस्या भए पनि स्रोत बढाउने केही विकल्पहरू रहेको र विज्ञहरूले उपयुक्त सुझाव दिने अपेक्षा व्यक्त गरे ।
स्वास्थ्य बीमा सुधारका लागि गठित यो समिति गत असोजमा मन्त्रीस्तरीय निर्णयबाट डा. शम्भुप्रसाद आचार्यको संयोजकत्वमा गठन गरिएको थियो। समितिमा विकास अर्थशास्त्री, वरिष्ठ चिकित्सक, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, र निजी क्षेत्रका प्रतिनिधिहरू सदस्य रहेका छन् ।

