काठमाडौँ,१९ वैशाख । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७२० सवारी चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा आठ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १३६ जना चालकलाई कारबाही गरिएको छ। त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२४, ट्राफिक संकेत उल्लङ्घन गर्ने १२९ तथा तीव्र गतिमा सवारी चलाउने १७५ जना पनि कारबाहीमा परेका छन्।
प्रहरीका अनुसार लेन अनुशासन उल्लङ्घन गर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८ तथा सडक पेटीमा सवारी पार्किङ गर्ने ९२ जनामाथि पनि कारबाही गरिएको छ।
त्यस्तै, तोकिएको स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने २० जना चालक र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने थप सवारी चालकलाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

