बीरगन्ज,१९ वैशाख । आयातकर्ता तथा व्यवसायीहरू लगातार तीन दिनसम्म भन्सार जाँचपास प्रक्रियामा सहभागी नभए पनि बीरगन्ज भन्सार कार्यालयले तीन दिनमै करिब तीन अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
सरकारले आयातित तथा निर्यात गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य लागू गर्ने निर्णय गरेपछि वैशाख १५ गतेदेखि उद्यमी–व्यवसायीहरूले भन्सार जाँचपास प्रक्रिया बहिष्कार गर्दै आएका छन्।बीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार व्यवसायीहरूको असहभागिताका बाबजुद पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी–फलफूलजन्य वस्तुको जाँचपास भइरहेकाले ठूलो परिमाणमा राजस्व सङ्कलन सम्भव भएको हो।
कार्यालयका अनुसार वैशाख १५ गते ३५ करोड रुपैयाँ, वैशाख १६ गते एक अर्ब ९० करोड रुपैयाँ तथा वैशाख १७ गते ९० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
“पेट्रोलियम पदार्थको जाँचपास भएकाले राजस्व सङ्कलन उच्च भएको हो,” सूचना अधिकारी विष्टले बताएका छन्।उनका अनुसार आयातकर्ता तथा निर्यातकर्ताले फाराम भर्ने, घोषणा गर्ने लगायत प्रक्रियागत काममा सहभागिता जनाउन छाडेपछि धेरै वस्तुको जाँचपास प्रभावित बनेको छ।
सरकारले हालै भन्सार नाकामा आउने सबै प्रकारका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेपछि व्यवसायीहरूले त्यसको विरोध गर्दै आएका छन्।
बीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले चौथो दिन पनि भन्सार जाँचपास प्रक्रिया सहज रूपमा अघि बढ्न नसकेको जानकारी दिएका छन्।सामान्य अवस्थामा वीरगञ्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ।

