सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति आङ्देम्बेको आलोचना

spot_img

काठमाडौँ,१९ वैशाख । नेपाली कांग्रेस संसदीय दलले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले अपनाएको पछिल्लो कदमलाई अमानवीय र दमनकारी भन्दै कडा विरोध जनाएको छ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शुक्रबार विज्ञप्ति जारी गर्दै सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको बलपूर्वक हस्तक्षेप तत्काल रोक्न सरकारलाई आग्रह गरेका हुन्। उनले बस्ती हटाउने क्रममा सेना तथा सुरक्षा निकाय परिचालन गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै राज्यले आफ्नै नागरिकमाथि युद्धको शैलीमा व्यवहार गरिरहेको आरोप लगाए।

“यदि राज्य आफ्नै नागरिकसँग युद्ध लडिरहेको होइन भने सुकुम्बासीमाथि यस्तो कठोर व्यवहार किन भइरहेको छ ?” भन्दै आङ्देम्बेले वास्तविक सुकुम्बासीको पहिचान नगरी गरिएको उठिबासले राज्यलाई संरक्षकभन्दा त्रासको प्रतीक बनाएको टिप्पणी गरेका छन्।

उनले पछिल्ला दिनमा मनोहरा बस्तीका एक किशोर र बल्खुस्थित बागमती किनारका एक वृद्धले आत्महत्या गरेको घटनालाई राज्यको कठोर नीतिसँग जोड्दै मृतक परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुत्केरी, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको मानवीय व्यवस्थापन गर्न र बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि उनले सरकारसँग आग्रह गरेका छन्।

आङ्देम्बेले प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहलाई बस्ती हटाउन निर्देशन दिने तथा सुकुम्बासीको लगत संकलनमा सेना परिचालन गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको बताएका छन्।

नेपाली कांग्रेस संसदीय दलले डोजर र सुरक्षा बलको प्रयोगमार्फत समस्या समाधान खोज्नुको सट्टा दीर्घकालीन र मानवीय समाधानतर्फ सरकार अग्रसर हुनुपर्ने माग गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय