जेनजी आन्दोलनका २,६६० घाइतेको विवरण सार्वजनिक

spot_img

काठमाडौं,१९ वैशाख । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको अन्तिम सूची सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक थप २२ जनाको नाम प्रमाणीकरण गर्दै सूचीकृत प्रक्रिया पूरा गरेको हो।

स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार विभिन्न निकायबाट प्राप्त थप २५० जनाको विवरणमध्ये मन्त्रालयको मापदण्डअनुसार २२ जना मात्र घाइतेका रूपमा प्रमाणित भएका छन्।

उनले निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलगायत विभिन्न निकायबाट थप नाम आएको जानकारी दिँदै अस्पतालको आधिकारिक रेकर्ड र सम्बन्धित अस्पताल प्रमुखको प्रमाणीकरणका आधारमा मात्रै सूची अद्यावधिक गरिएको बताए।

मन्त्रालयका अनुसार अब जेनजी आन्दोलनमा घाइतेको कुल सङ्ख्या २ हजार ६६० पुगेको छ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभरिका ९९ अस्पतालमा घाइतेहरूको उपचार गरिएको थियो। पछिल्लो पटक प्रमाणीकरण भएका २२ जनाको नामसमेत गृह मन्त्रालयमा पठाइएको केन्द्रले जनाएको छ।

सरकारको व्यवस्था अनुसार जेनजी आन्दोलनका घाइतेहरूले अध्ययनका लागि कोटा, रोजगारीमा प्राथमिकता तथा उपचार सुविधा पाउने व्यवस्था रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय