काठमाडौँ,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुकुम्बासी बस्ती तथा अतिक्रमित संरचना हटाउने क्रममा सरकारले अपनाएको शैलीको कडा आलोचना गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विकासको नाममा मानवीय संवेदना, धार्मिक आस्था र सामाजिक यथार्थलाई बेवास्ता गरिएको आरोप लगाए।
अध्यक्ष लिङ्देनले सार्वजनिक जग्गा खाली गर्ने प्रक्रियामा सरकारले देखाएको हतारोप्रति असन्तुष्टि व्यक्त गर्दै मानिसको सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण अझ गम्भीर विषय भएको टिप्पणी गरेका छन्। बुद्ध जयन्तीजस्तो पवित्र दिनमा गुम्बा भत्काइएको तथा मन्दिर र विद्यालयमाथि समेत हस्तक्षेप गरिएकोप्रति उनले आपत्ति जनाएका छन्।
“मन्दिर, विद्यालय र गुम्बा सार्वजनिक स्थलमै हुनु स्वाभाविक हो,” उनले भनेका छन्, “यसतर्फ सरकारको संवेदनशीलता नदेखिनु दुःखद विषय हो।”
सरकारको पछिल्लो कदमलाई अपूरो गृहकार्यको परिणाम भन्दै उनले विकासको उद्देश्य मानव जीवन सहज बनाउनु हुनुपर्ने धारणा राखे। “विकास जीवनका लागि हो, जीवन विकासका लागि होइन,” भन्दै उनले बासस्थान उजाडिँदा मानिस आत्महत्यासम्म गर्न बाध्य हुनु राज्यको असफलता भएको बताए।
लिङ्देनले इतिहास, धर्म र परम्पराको संरक्षण गर्दै अघि बढ्ने विकास मात्र दीर्घकालीन र दिगो हुने तर्क गरेका छन्। उनले सरकारलाई बल प्रयोग र हतारोमा निर्णय गर्ने प्रवृत्ति त्यागेर संवेदनशील तथा विवेकपूर्ण ढंगले समस्या समाधान गर्न आग्रह गरे।
राप्रपाले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको कठोर शैलीले समाजमा असुरक्षा र निराशा बढाएको भन्दै सरकारलाई तत्काल संयम अपनाउन चेतावनी दिएको छ।

