spot_img

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि ९.६६ अर्ब खर्च अनुमान

spot_img
spot_img

काठमाडौं, पुस २१ – गत असोजमा बाढीपहिरोले क्षति पुर्‍याएको बिपी राजमार्गको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। डिभिजन सडक कार्यालय, भक्तपुरका अनुसार भकुण्डेबाट नेपालथोकसम्मका विभिन्न सडकखण्ड पुनर्निर्माण गर्न उक्त लागत आवश्यक पर्ने देखिएको छ।

काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर खण्डमा ८ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रमुख डिभिजन इञ्जिनियर सुमन योगेशका अनुसार अध्ययनले आरसिसी, प्लम, र गेभियन वाल निर्माण गर्नुपर्ने देखाएको छ।

“केही स्थानमा पुल बनाउनुपर्ने पनि देखिएको छ, तर पर्खाल वा पुल बनाउनेबारे छलफलपछि निर्णय हुनेछ,” उनले भने।

पुनर्निर्माण कार्य सुरु गर्न आवश्यक स्रोत अझै सुनिश्चित हुन सकेको छैन। दातृ निकाय, नेपाल सरकार, र सहुलियतपूर्ण ऋणमार्फत बजेट सुनिश्चित गर्ने प्रयास भइरहेको छ। जाइकाको अध्ययन र प्रतिवेदनको पर्खाइमा रहेको भौतिक पूर्वाधार मन्त्रालयले आगामी फागुनसम्म ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

अहिले सुक्खा पहिरोको जोखिमका कारण राजमार्गमा राति १० घण्टासम्म यातायात सञ्चालन रोकिएको छ। स्रोत उपलब्ध नभए पुनर्निर्माण कार्य थप ढिला हुने र आगामी वर्षाको मौसममा यातायात सञ्चालनमा थप चुनौती आउने सम्भावना छ।

जापान सरकारको अनुदान सहयोगमा २०५३/५४ मा सुरु भएको बिपी राजमार्गको निर्माण २०७२ मा सम्पन्न भएको थियो। १६० किलोमिटर लामो यस राजमार्ग निर्माणका लागि प्रतिकिलोमिटर ३५ करोड रुपैयाँ लागत लागेको थियो।

बिपी राजमार्ग पुनर्निर्माणले राजधानीलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गलाई पुनः सुचारु गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय