काठमाडौं, ११ माघ । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्या समाधानका लागि ६ अर्बको बजेट छुट्याइएको र एक वर्षभित्र समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले धरानका मेयर हर्क साम्पाङले रित्तो गाग्री बोकेर सिंहदरबार आएर मिडिया स्टन्ट गरेको आरोप लगाउँदै समस्याको दीर्घकालीन समाधानमा सरकार केन्द्रित रहेको बताए ।
मन्त्री यादवले धरानको पानी समस्या समाधानका लागि एशियाली विकास बैंक (ADB) को ऋण सहयोग प्रयोग गरिने जानकारी दिए। “रित्तो गाग्री बोकेर समस्या समाधान हुँदैन। काम गरेर देखाउने हो। हामी धरानको खानेपानी समस्या एक वर्षभित्र समाधान गर्छौं,” उनले भने ।
धरानको खानेपानी व्यवस्थापनका लागि करिब ६ अर्बको बजेट छुट्याइएको छ। यस बजेटबाट केन्द्र सरकार र स्थानीय निकायको सहकार्यमा खानेपानी आपूर्ति परियोजनाहरू सञ्चालन गरिनेछ। मन्त्री यादवले समस्या समाधानका लागि जग्गा व्यवस्थापनलगायतका मुद्दाहरू सुल्झाउन प्रधानमन्त्रीको निर्देशन अनुसार योजना अघि बढाइने उल्लेख गरे ।
मन्त्री यादवले पूर्व मेयरले खानेपानी संस्थानलाई हटाएर स्थानीय तहबाटै समस्या समाधान गर्न खोज्दा उपलब्ध पानीसमेत गुमाउन पुगेको भन्दै आलोचना गरे। “संस्थानले राम्रोसँग पानी पुर्याइरहेको थियो। तर, आफू सक्षम छु भन्दै मेयरले अधिकार लिएका थिए, जुन सफल भएन,” उनले भने
मन्त्री यादवले समस्या समाधानका लागि दीर्घकालीन दृष्टिकोणबाट काम भइरहेको बताउँदै धरानबासीलाई छिट्टै पानीको अभावबाट मुक्ति दिने प्रतिबद्धता व्यक्त गरे ।

