काठमाडौँ, १५ माघ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा पुर्याउन प्रतिबद्ध रहेको बताएका छन्। संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले सरकारका नीति र अध्यादेशप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गरे।
प्रधानमन्त्री ओलीले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न, जनसेवामा प्रभावकारिता ल्याउन र उद्योग-व्यवसाय सञ्चालन सहज बनाउन अध्यादेश ल्याएको स्पष्ट गरे। उनका अनुसार जारी अध्यादेशले २९ वटा कानुनमा संशोधन गरिएको छ, जसलाई प्रतिस्थापन विधेयकमार्फत संसद्बाट पारित गरिने छ।
प्रधानमन्त्रीले सांसदहरूलाई सदनमा तथ्य र तर्कका आधारमा संयमित रूपमा प्रस्तुत हुन आग्रह गरे। “गलत आरोप र भ्रम छरिएमा रचनात्मक प्रतिवाद गर्नुपर्छ,” उनले भने। ओलीले राष्ट्रिय एकता र सार्वभौमसत्ताको पक्षमा सरकार स्पष्ट र दृढ रहने पनि बताए।
दुवै छिमेकी भारत र चीनसँग मित्रतापूर्ण र पारस्परिक लाभमा आधारित सम्बन्धलाई सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे। उनले नेपालले छिमेकीसँगको विकासको लाभ लिनेगरी कूटनीति अघि बढाउने बताए।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सरकारको प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्रीले असाधारण परिस्थिति भएकाले सरकारले विशेष सक्रियता देखाउनुपर्ने आवश्यकता रहेको बताए। उनले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको भन्दै संयुक्त सरकार आगामी निर्वाचनसम्म चल्ने दाबी गरे।
“श्रीलङ्का र बङ्गलादेशका उदाहरण दिएर भ्रम सिर्जना गर्न खोजिएको छ। नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरू बाटोबाट परिवर्तन सम्भव छैन,” प्रधानमन्त्री ओलीले भने।
जलवायु परिवर्तन र वातावरणीय सुरक्षालाई ध्यानमा राख्दै सगरमाथा संवाद आयोजना गर्न लागिएको उनले जानकारी दिए।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश र कानुन संशोधनको आवश्यकता बारेमा विस्तृत जानकारी गराएका थिए।

