वीरगन्ज, १९ माघ । वीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुरमा माघ २६ गतेदेखि चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी बारे आज पत्रकार सम्मेलन गरेर आयोजक परवानीपुर युथ क्लबले जानकारी दिएको छ ।
माघ २६ गते देखि फाल्गुन ३ गते सम्म चल्ने चौथो परवानीपुर गोल्डकप प्रतियोगितमा २० लाख ५० हजार रुपैंया कूल खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा मधेश प्रदेशका ६ जिल्लाका ६ टिम र बाग्मती प्रदेशका २ वटा गरी ८ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष अलि अख्तरले जानकारी दिए ।
वीरगन्ज युनाईटेड क्लब, शक्ति युथ क्लब परवानीपुर, नवजनजागृति युवा क्लब सिमरा बारा, बेंखाडी युवा क्लब महोतरी, जनकपुर स्पोर्ट्स क्लब धनुषा, रोमन फुटबल क्लब सर्लाही र बागमती प्रदेशका हेटौडा फुटबल एकेडेमी मकवानपुर र के.बि. ग्लोबल फुटबल चितवन गरि जम्मा ८ वटा टिमहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख एक हजार र दोस्रो विजेतालाई नगद एक लाख एकाउन्न हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताको मैन अफ द टुर्नामेण्टलाई नगद ३५ हजार को साथै ट्रफी, मैन अफ दी मैचलाई नगद पाँच हजार र ट्रफी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, खेलको उत्कृष्ट स्ट्राईकरलाई जनही नगद सात हजार पाँच सय सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि वीरगन्ज महानगरपालिका– २१ बाट सहयोग बापत ९० हजार प्राप्त भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियार, क्लबका सचिव गुल्टेन मण्डल, सहसचिव ईमरान आलम, कोषध्यक्ष कृष्णा प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार अनिल गौरवले गरेका थिए ।