काठमाडौं, २३ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहलाई प्रभावकारी, आधुनिक र विश्वसनीय बनाउन सूचना प्रविधि प्रणालीको सुदृढीकरणमा जोड दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित छलफलका क्रममा उनले सेवा छरितो बनाउन सूचना प्रविधिको महत्त्वलाई प्राथमिकता दिनुपर्ने बताए ।
छलफलमा अर्थ मन्त्रालयसहित नेपाल राष्ट्र बैंक, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राष्ट्रिय वाणिज्य बैंक, नेपाल स्टक एक्सचेन्जलगायत निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।
अर्थमन्त्री पौडेलले सरकारी सेवा प्रवाहलाई अविच्छिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोग बढाउँदै सूचना प्रणालीको सञ्चालनका लागि दक्ष जनशक्ति विकासको खाँचो औंल्याए। साथै, सूचना प्रणालीका कारण कुनै पनि सेवामा अवरोध हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिए ।
निकायका अधिकारीहरूले सुरक्षा दृष्टिकोणले नियमित ‘सेक्युरिटी अडिट’ गर्ने र प्रणालीको ‘ब्याकअप’ क्षमता विस्तार गर्न आवश्यक योजना प्रस्तुत गरे। तर, सूचना प्रविधिको विस्तारसँगै दक्ष जनशक्तिलाई टिकाइ राख्न कम सेवासुविधाले चुनौती निम्त्याएको पनि उनीहरूले उल्लेख गरे ।
बैठकमा सरकारी सेवा प्रणालीलाई डिजिटल र सुदृढ बनाउन आवश्यक लगानी र सुधारका प्रस्तावहरू पनि प्रस्तुत गरिएको थियो ।
विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत निकायका अधिकारीहरूको सहभागिता थियो ।

