काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि गलत सोचमा अल्मलिएको टिप्पणी गरेका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा ‘रुल अफ ल’ (कानुनको शासन) र ‘रुल बाइ ल’ (कानुनद्वारा शासन) बीचको भिन्नता नबुझ्दा समस्या सिर्जना हुने बताए। उनका अनुसार कानुनको शासनमा सरकार आफैं कानुनको पालक हुन्छ भने ‘रुल बाइ ल’ मा कानुनलाई सत्ता चलाउने हतियारका रूपमा प्रयोग गरिन्छ।
थापाले लोकतन्त्रमा अपेक्षित व्यवस्था ‘रुल अफ ल’ नै भएको उल्लेख गर्दै सरकार त्यसबाट विचलित हुन नहुने चेतावनी दिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएको स्मरण गराउँदै नेपाली कांग्रेसलाई पनि सोही अवधिका लागि प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी प्राप्त भएको बताए।
“हामी सरकारलाई सहयोग गर्न चाहन्छौं, तर आवश्यक पर्दा खबरदारी, प्रतिवाद र विकल्प पनि प्रस्तुत गर्छौं,” उनले भने।
थापाले कांग्रेसले आगामी पाँच वर्षसम्म सभ्य र विनम्र ढंगले प्रतिपक्षको भूमिका निभाउने स्पष्ट पार्दै सरकारलाई चेतावनी दिए— “हाम्रो विनम्रतालाई कमजोरी नठानियोस्, हामी नम्र छौं तर कमजोर छैनौं।”

