काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा म्याग्दी जिल्लाको दरबाङ र नारच्याङमा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ ।
म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा आयोजना हुनेछ। त्यस्तै, म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल र अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ ।
तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगरका अनुसार प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पुरुष भलिबलतर्फका विजेताले नगद रु १,११,१११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले रु ६६,६६६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
महिला भलिबलतर्फका विजेताले नगद रु ७७,७७७ र उपविजेताले रु ४४,४४४ ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
करीब रु १५ लाख ५० हजारको लागत अनुमान गरिएको यो प्रतियोगिताबाट आम्दानी भएको रकम दुर्गम क्षेत्रलाई लक्षित गरी शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

