रोल्पा, १३ फागुन । खुकुरी प्रहार गरी रोल्पामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मङगलबार बिहान दक्षिण त्रिवेणी गाउँपालिकाको केन्द्र जुगार पश्रिमी थुमका गाउँकी ३२ वर्षीया अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौल्पाले जनाएको छ ।
उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि सख्त घाइते बनाएको भनी प्रहरी चौकी जुगारमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरी चौकीका प्रहरी नायव निरीक्षक दिवश हिताङको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थल पुग्दा असिम्ता मृत फेला परेकी थिइन् ।
इलाका प्रहरी चौकी होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापति नेतृत्वको थप प्रहरी समेत घटनास्थल पुगेको थियो । हत्या आरोपमा खिमबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
गाउँलेका अनुसार बुढामगरले श्रीमतीलाई बेलाबेलामा कुटपिट गर्दथे । के कति कारणले हत्या भएको भन्ने अझै खुलेको छैन ।

