बीरगन्ज,०९ चैत । ग्लोबल मनी वीक २०२५ को अवसरमा बीरगन्जमा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त सहभागितामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा माइस्थान प्राङ्गणबाट सुरू भएको र्याली घण्टाघर पुगेर समापन भएको थियो।


कार्यक्रममा कर्पोरेट डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरूको सक्रिय सहभागिता रह्यो। साथै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रदेश प्रमुख राजेश कुमार गुप्ता समेत कार्यक्रममा उपस्थित थिए।
प्रमुख कार्यकारी अधिकृत थिङ र प्रदेश प्रमुख गुप्ताका अनुसार, ग्लोबल मनी वीक एक वार्षिक अन्तर्राष्ट्रिय कार्यक्रम हो, जसले बालबालिका, युवा तथा व्यवसायिकहरूमा वित्तीय साक्षरताको प्रवर्द्धन गर्ने लक्ष्य राख्छ। प्रत्येक वर्ष मार्च महिनामा मनाइने यस कार्यक्रमअन्तर्गत बचत, बजेट योजना, लगानी, तथा ऋण व्यवस्थापन जस्ता महत्वपूर्ण वित्तीय विषयहरूमा कार्यशाला, विद्यालय कार्यक्रम तथा सामुदायिक गतिविधिहरू सञ्चालन गरिन्छ।

यस वर्षको ग्लोबल मनी वीकले वित्तीय निर्णय क्षमताको विकास गर्दै, दीर्घकालीन आर्थिक स्थिरता निर्माणमा टेवा पुर्याउने उद्देश्य लिएको छ। कार्यक्रमले वित्तीय शिक्षा र समावेशीकरणलाई प्रोत्साहन गर्दै, आर्थिक रूपले सशक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।