भक्तपुर, १० चैत्र । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा कवाडी संकलन गर्ने एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान ५:५५ बजे बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएको प्रहरीले जनाएको छ ।
खोटाङको केपिलासढी गाउँपालिका–२ निवासी राई बोडेमै बस्दै आएका थिए र कवाडी संकलन गरेर जीविकोपार्जन गर्थे। भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेका अनुसार मृतकको टाउको र दाहिने कानमा चोट देखिएको छ । जसले हत्या भएको आशंका बढाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि केएमसी अस्पताल पठाएको छ । हालसम्म घटनासँग जोडिएको कोही पक्राउ परेको छैन भने अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

