बारा,१४ चैत । जीतपुरसिमरा उपमहानगरपालिकाले कृषिमा विद्युतिकरणलाई प्राथमिकता दिँदै किसानहरूलाई सिँचाइमा सहुलियत प्रदान गर्ने महत्त्वपूर्ण योजना अघि सारेको छ। नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले वडा नं. १७, १८, १९, २०, र २४ का कृषियोग्य जमिनमा विद्युत् मिटर जडान गर्ने निर्णय गरेको छ। साथै, मिटरको शुल्क नगरपालिकाले नै व्यहोर्ने घोषणा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण र कलैया वितरण केन्द्रको सहकार्यमा कृषि विद्युत् लाइनको प्रसारण कार्य पूरा भइसकेको छ। नगरपालिकाले यो योजनाले किसानहरूलाई नियमित तथा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने र आधुनिक कृषि प्रविधि अपनाउन सहयोग पुर्याउने विश्वास लिएको छ।
स्थानीय किसानहरूले यस योजनालाई स्वागत गरे पनि अघिल्लो घोषणा कार्यान्वयन नभएको अनुभव सुनाउँदै, यस पटक योजना कत्तिको प्रभावकारी रूपमा लागू हुन्छ भन्नेमा आशंका व्यक्त गरेका छन्।
वडा नं. १७ का पूर्व वडाध्यक्ष नवराज बहादुर खड्काका अनुसार, उपमहानगरपालिकाले राम्रो निर्णयहरू गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको देखिन्छ। यदि यो योजना प्रभावकारी रूपमा लागू भयो भने कृषिमा ठुलो परिवर्तन आउन सक्छ। अब सबैको ध्यान नगरपालिकाले आफ्नो निर्णयलाई व्यवहारिक रूपमा सफल बनाउनेछ वा अघिल्ला घोषणाहरूझैँ अधुरो रहनेछ भन्नेमा केन्द्रित छ।

