मकवानपुर,१५ चैत । मकवानपुर प्रहरीले प्रतिबन्धित अवैध लागूऔषधसहित दुईजना भारतीयलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोस्टस्थित पूर्वपश्चिम लोकमार्ग सडकबाट सवारी साधान चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।
वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ज ८२०२ नम्बरको यात्रुवाहक विद्युतीय गाडी चेक गर्दा त्यसमा यात्रारत् भारत बिहार राज्य घर भई हाल हेटौंडा–२ संगमचोक डेरा गरी बस्ने ४२ वर्षीय रामजी बानिया र हेटौंडा–४ बस्ने ६४ वर्षीय सन्तोष दासको साथबाट प्रहरीले ओनरेक्स १०० एमएलको १२ बोतल अवैध प्रतिबन्धित लागूऔषध फेला पारेको हो । प्रहरीले शंकाको आधारमा उनीहरूमाथि चेक गरेको थियो ।
लागूऔषधसहित नियन्त्रणमा लिइएको रामजी र सन्तोषलाई जिल्ला अदालत मकवानपुर, हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



