वीरगन्ज,१६ चैत । पर्सा जिल्लाका विभिन्न पालिकामा २१ वर्षअघि निर्माण गरिएका खानेपानी टङ्कीहरू सञ्चालनमा नआउँदा उपभोक्ताहरूले खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन् ।
पोखरिया नगरपालिका–४ बजार क्षेत्रमा २१ वर्षअघि निर्माण भएको खानेपानी टङ्की अझैसम्म सञ्चालनमा आउन सकेको छैन । गत वर्षदेखि सुक्खायाम सुरु भएसँगै चैत–असारसम्म पानीको स्रोत सुकेर चापाकलमा पानी नआउने समस्या विकराल बन्दै गएको छ । अबको केही दिनमा पुनः सुक्खायाम सुरु हुने सम्भावना बढेसँगै स्थानीयवासीले खानेपानीको वैकल्पिक स्रोत खोज्नुपर्ने स्थिति आएको छ ।
चार वर्षअघि पोखरियामा थप पाइपलाइन विस्तार गरिए पनि जडानका लागि ६ हजार रुपैयाँ लाग्ने हुँदा उपभोक्ताहरूले चासो नदेखाएको पोखरिया खानेपानी संस्थानले जनाएको छ । अहिले भने सुक्खायामको समस्याले स्थानीयवासीलाई पानीको स्रोतको खोजीमा धाउने बाध्यता थपिएको छ ।
हाल पर्सा जिल्लाका खानेपानी मन्त्री प्रदीप यादवले विभिन्न कार्यक्रममा शुद्ध खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै आए पनि आफ्नै गृह जिल्लामा निर्माण भएका खानेपानी टङ्कीहरू सञ्चालनमा ल्याउन असफल देखिएका छन्।
पर्सा जिल्लाका पोखरिया, पर्सागढी, बहुदरमाई नगरपालिका र ठोरी, जगरनाथपुर, सखुवाप्रसौनी, कालिकामाई, विन्ध्यवासिनी, छिपहरमाई, धोबिनी, पकाहामैनपुर, पटेर्वासुगौलीलगायतका सबै पालिकामा खानेपानी टङ्की निर्माण गरिएका भए पनि कुनै पनि सञ्चालनमा आएको छैन ।
पर्सागढी नगरपालिकामा मात्रै बडनिहार, मनवा, रङ्गपुरमा गरी तीन वटा खानेपानी टङ्की निर्माण भए पनि एक पनि सञ्चालनमा आएको छैन ।
ग्रामीण क्षेत्रमा निर्माण गरिएका खानेपानी टङ्कीहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । कतिपय टङ्की कर्मचारीविहीन र बेवारिसे अवस्थामा रहेको, संरचनाको चोरी भएको र सञ्चालनका लागि थप बजेट आवश्यक पर्ने समस्या रहेको छ ।
अहिलेसम्म खानेपानी टङ्कीहरूको संरक्षण र सञ्चालनमा कुनै प्रभावकारी कदम नचालिँदा, झारपातले टङ्कीहरू कुरूप बनेका छन् । केही स्थानमा लागूपदार्थ सेवनकर्ताहरूको अखाडा तथा पशु चराउने स्थलको रूपमा प्रयोग हुँदै आएको छ ।
स्थानीय उपभोक्ताहरूले खानेपानी टङ्कीहरू सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आए पनि समस्या समाधानका लागि ठोस पहल हुन सकेको छैन । संस्थानले केवल निर्माणमा मात्रै ध्यान दिएको र कमिसनका लागि मात्र टङ्की निर्माण गरेको आरोप पनि लागेको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीको पहुँच वृद्धि गर्ने आश्वासन दिए पनि आफ्नै गृह जिल्लामा खानेपानी टङ्कीहरूको समस्या समाधान गर्न नसक्दा आलोचनाको सिकार बनेका छन् । स्थानीय उपभोक्ताहरूले खानेपानी टङ्कीहरू सञ्चालनमा ल्याई खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
पर्सा जिल्लामा खानेपानी टङ्कीहरूको व्यवस्थापन र सञ्चालनमा सरकारको तदारुकता आवश्यक देखिएको छ । अन्यथा, निर्माण मात्रै गर्ने तर सञ्चालनमा नल्याउने प्रवृत्तिले स्थानीयवासीको समस्या झन् गहिरिँदै जानेछ ।

