पर्सामा रासायनिक मलको अभावले चैते धान रोपाइँमा समस्या

spot_img

पर्सा,१७ चैत । पर्साका ग्रामीण भेगमा चैते धानबालीको रोपाईको समयमा रासायनिक मलको चरम अभाव देखिएको छ। जिल्लाका ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिका र वीरगन्जका केही वडाहरूमा किसानहरूले चैते धानको रोपाई शुरु गरेको एक साताभन्दा बढी भइसक्दा पनि रासायनिक मलको अभाव झेल्नु परेको छ।

धानबाली रोपाईको समयमा डिएपी, पोटास र युरियाजस्ता रासायनिक मलको आवश्यकता पर्दछ। तर, यस क्षेत्रका कृषि सहकारी संस्थाहरूमा यी मलहरूको अभाव रहेको किसानहरूले गुनासो गरेका छन्।

नेपालका लागि रासायनिक मलको वितरक कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कम्पनी वीरगञ्जमा मल नभएकाले मल उपलब्ध गराउन नसकिएको जिराभवानी गाउँपालिका वडा नं. २ सेढवाका मारुतिनन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले बताए। उनले करिब एक महिनाअघि चैते धानबाली रोपाईका लागि यी संस्थाहरूले डिएपी र युरिया मल दिएको र अब वैशाख महिनाको अन्तिम सातातिर मात्र मल आउने जानकारी दिए।

पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष तथा रासायनिक मल वितरण समितिका संयोजक ममता महतोले कृषि ज्ञान केन्द्र पर्सा तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले पठाएको परिपत्र अनुसार स्थानीय कृषि सहकारी संस्थाहरूले मल पाउने पालिकाबाट सिफारिस प्रदान गरिसकेको बताइन्। तर केही किसानहरूले मात्र मल पाएको र अधिकांश किसानहरूले मल नपाएको गुनासो आएको छ।

ठोरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष अष्टबहादुर लोप्चनले एक पटक मात्र रासायनिक मल आएको बताए। यस वडामा करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा चैते धानको खेती हुने हुँदा अधिकांश किसानहरू मल पाउनबाट वञ्चित भएको उनले बताए। रासायनिक मल नपाएका किसानहरूले भारतीय बजारबाट महँगो मूल्यमा मल ल्याउनु परेको उनको भनाइ छ।

चैते धानबाली रोपाईका लागि नेपाल सरकारको अनुदानित रासायनिक मल नपाएका किसानहरूले भंगहा, इनरवा, मैनाटाड, सिकटा लगायतका भारतीय बजारबाट महँगो मूल्यमा मल खरिद गर्नुपरेको किसानहरूले गुनासो गरेका छन्। नेपाली बजारमा डिएपी प्रति बोरा (५० केजी) २ हजार ३ सय रुपैयाँ र युरिया प्रति बोरा (५० केजी) ८ सय रुपैयाँ रहेको छ भने भारतीय बजारमा डिएपी प्रति बोरा (५० केजी) ३ हजार ३ सय रुपैयाँ र युरिया प्रति बोरा (४५ केजी) ८ सय रुपैयाँ रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय