काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न कुनै पनि व्यक्ति उन्मुक्ति नपाउने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले घटनामा संलग्न जोसुकै होस्, कडा प्रशासनिक कारबाही हुने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले चैत १५ गतेको घटनालाई आपराधिक गतिविधि भन्दै यसले मुलुकको शान्ति, सुव्यवस्था र लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको बताए। “यस्ता घटनामा संलग्न कोही पनि उन्मुक्ति पाउन सक्दैनन्, चाहे पूर्वराजा ज्ञानेन्द्र शाह नै किन नहोस्,” उनले भने।
ओलीका अनुसार, प्रशासनलाई दुईवटा फरक राजनीतिक कार्यक्रमबारे जानकारी दिइएको थियो। प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले शान्तिपूर्ण रूपमा सभा सम्पन्न गर्यो। तर, तीनकुनेको प्रदर्शन नियोजित रूपमा हिंसात्मक बनाइएको उनले दाबी गरे।
“तीनकुनेका आयोजकहरूले प्रशासनलाई दिएको जानकारीअनुसार सभा गरेनन्। भीडलाई उत्तेजित पार्ने, प्रहरीमाथि आक्रमण गर्ने, लुटपाट गर्ने, आगजनी गर्ने जस्ता आपराधिक गतिविधि सुरु गरियो,” उनले भने।
ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले हिंसात्मक घटनाको योजनामा संलग्न भएको आरोप लगाए। “फागुन ७ गते शाहले ‘म अघि बढ्छु, साथ देउ’ भन्ने वक्तव्य दिए। त्यसपछि ठाउँठाउँमा सभा आयोजना गर्दै जनमत भड्काउने काम गरियो। चैत १४ गते उनले एक विवादित व्यक्तिलाई आफ्नो निवासमा बोलाएर कथित ‘जनकमाण्डर’ तोके र हिंसात्मक प्रदर्शनका लागि परिचालन गरे,” उनले भने।
सरकारले घटनाको छानबिन तीव्र बनाइसकेको र यसका योजनाकारहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रधानमन्त्री ओलीले बताए। “कसैले पनि उन्मुक्ति पाउने छैन। फेरि राजा बन्ने सपना देख्नेहरूले यी घटनामा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ,” उनले चेतावनी दिए।
सरकारले घटनाको विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ। साथै, दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

