काठमाडौँ, १९ चैत्र । सरकारले सर्वसाधारणलाई राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन अपील गरेको छ।


मंगलबार मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरूको जानकारी दिंदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार र सूचना प्रविधि मन्त्री, पृथ्बीसुब्बा गुरुङले राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई अपील गरिएको बताए।
यसका साथै, मन्त्री गुरुङले गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार सरकारको जिम्मेवारीमा गर्ने निर्णय गरिएको जानकारी दिए।

उनले भने, “तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने र भविष्यमा यस्ता घटनाहरू हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। साथै, सरकारले सबै नागरिकलाई यस्ता अराजक गतिविधिहरूमा संलग्न नहुन हार्दिक अपील गर्दछ।”
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए।