काठमाडौं,१९ वैशाख । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार कमजोर बन्दै गएपछि नेपाली रुपैयाँ पनि हालसम्मकै कमजोर अवस्थामा पुगेको छ। नेपाल–भारतबीच स्थिर विनिमय दर प्रणाली रहेकाले भारतीय मुद्रामा आएको गिरावटको प्रत्यक्ष असर नेपाली रुपैयाँमा देखिएको हो।
शुक्रबार एक अमेरिकी डलर बराबर भारतीय रुपैयाँ ९४.८८ पुगेको छ भने नेपाली रुपैयाँको खरिद दर १५१.५६ र बिक्री दर १५२.१६ कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरसँगको विनिमय दर भारतीय मुद्राको आधारमा गणना हुने भएकाले भारु कमजोर हुँदा नेपाली मुद्रा स्वतः प्रभावित हुन्छ।
विशेषज्ञहरूका अनुसार भारतीय रिजर्भ बैंक (आरबीआई) ले डलर आपूर्ति बढाएर भारुको मूल्य स्थिर राख्ने प्रयास गर्ने भए पनि पछिल्लो समय यस्तो हस्तक्षेप न्यून भएको देखिएको छ। मध्यपूर्वमा जारी द्वन्द्व, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, अमेरिकी ब्याजदर वृद्धि तथा विश्वव्यापी आर्थिक अनिश्चितताले डलरप्रति लगानीकर्ताको आकर्षण बढाएको विश्लेषण गरिएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार सन् २०२६ को अप्रिल महिनामा मात्रै भारतबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको छ। उनका अनुसार अप्रिलमा भारतीय रुपैयाँ करिब ५.५ प्रतिशतले कमजोर भएको छ।
पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मध्यपूर्व तनावका कारण पेट्रोलियम पदार्थ, रासायनिक मल तथा प्लास्टिकको आपूर्ति प्रभावित हुँदा दक्षिण एसियाली मुद्रामा दबाब परेको बताए। भारत पेट्रोलियममा आत्मनिर्भर नभएकाले यसको असर भारुमा अझ बढी देखिएको उनको भनाइ छ।
अर्थविद्हरूका अनुसार नेपाली रुपैयाँ कमजोर हुँदा रेमिट्यान्स प्राप्त गर्ने परिवार, पर्यटन उद्योग तथा निर्यात क्षेत्रमा केही लाभ पुग्न सक्छ। तर वैदेशिक ऋण तिर्न महँगो पर्ने, आयात खर्च बढ्ने तथा बजारमा मूल्यवृद्धिको दबाब बढ्ने चुनौती पनि सँगै आउनेछ।

