रौतहट,१९ वैशाख । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले नगरपालिकाको कामकारबाहीमा भइरहेको गैरकानूनी हस्तक्षेप तत्काल रोक्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग माग गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मेयर साहले स्थानीय तहलाई संविधान र कानुनअनुसार स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताएकी हुन्। उनले केन्द्र सरकार र सम्बन्धित निकायलाई मौलापुर नगरपालिकामा भइरहेको हस्तक्षेप रोक्न निर्देशन दिन आग्रह गरेकी छन्।
मेयर साहले नगरपालिकाले सञ्चालन गर्दै आएको ‘फ्री बिजुली, फ्री पानी’ तथा ‘छोरीसँग मेयर कार्यक्रम’ जस्ता लोकप्रिय योजनाको भुक्तानी रोकिएकोप्रति गम्भीर असन्तुष्टि जनाएकी छन्। उनका अनुसार माथिल्लो निकायको आदेश भन्दै कर्मचारीहरूले कार्यक्रमको भुक्तानी अवरुद्ध गरेका छन्।
“जनताले रुचाएका र देशभर चर्चा पाएका कार्यक्रमलाई सहजीकरण गर्नुको सट्टा हस्तक्षेप गरेर अवरोध सिर्जना गर्नु दुःखद हो,” उनले उल्लेख गरेकी छन्।
उनले संघीय सरकारका कर्मचारीमार्फत नगरपालिकाको प्रशासनिक तथा विकाससम्बन्धी काममा अनावश्यक दबाब र हस्तक्षेप भइरहेको आरोपसमेत लगाएकी छन्। सशर्त बजेट कार्यान्वयनमा अनावश्यक निर्णय माग्ने, योजना कार्यान्वयन ढिलाइ गर्ने तथा भुक्तानी रोक्ने कार्यले नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको उनको भनाइ छ।
त्यस्तै, नगरप्रमुखको परामर्शबिना कार्यपालिकाको बैठक बोलाउने, कार्यसूची निर्धारण गर्ने र निर्णय प्रमाणीकरणसम्बन्धी प्रक्रिया समेत नियमविपरीत भइरहेको भन्दै उनले आपत्ति जनाएकी छन्।
मेयर साहले स्थानीय तहमा खटिएका कर्मचारीहरू स्थानीय सरकारप्रति जिम्मेवार हुने कि संघीय मन्त्रालयको निर्देशनमा काम गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताएकी छन्।
पछिल्लो समय मौलापुर नगरपालिकाका लोकप्रिय कार्यक्रम रोक्न विभिन्न तहबाट दबाब सिर्जना गरिएको आरोप लागिरहेको छ। कार्यक्रमको भुक्तानी रोकिएको विरोधमा स्थानीयवासीले चरणबद्ध आन्दोलनसमेत गरिरहेका छन्।

