काठमाडौं,१९ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका केही क्षेत्रमा हावाहुरी, मेघगर्जन र असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ। साथै केही पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
यस्तै राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रमा समेत मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाले सम्भावित खराब मौसमका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

