काठमाडौं,१९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन्। नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह र आर्थिक विकासका लागि सूचना प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे।
‘सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार’ भन्ने नारासहित मनाइँदै गरेको दिवसका अवसरमा मन्त्री तिमिल्सिनाले सरकारले डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा काम गरिरहेको बताए।
उनका अनुसार आगामी दशकलाई लक्षित गर्दै दीर्घकालीन सूचना प्रविधि रणनीति तयार पारिनेछ भने डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ।
मन्त्री तिमिल्सिनाले नागरिक एपलाई अझ प्रभावकारी बनाउँदै राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने कार्य विस्तार भइरहेको जानकारी दिए।
नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत सुधारलाई तीव्रता दिएको पनि उनले बताए।
सरकारले सुरक्षित, समावेशी र दिगो डिजिटल इकोसिस्टम निर्माणलाई प्राथमिकतामा राख्दै देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डेटा सेन्टर सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिएको मन्त्री तिमिल्सिनाको भनाइ छ।
उनले सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इञ्जिनका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।
डिजिटल रूपान्तरण सरकारको एकल प्रयासले सम्भव नहुने उल्लेख गर्दै उनले निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम र प्रविधि समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

