काठमाडौं, २२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनमाथि लगाइएको ३४ प्रतिशत भन्सार करको प्रतिवाद गर्दै चीनले पनि सोही अनुपातमा भन्सार कर लगाउने घोषणा गरेको छ। न्युयोर्क टाइम्सका अनुसार, चीनको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार ११ अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा राखिएको छ। अब ती कम्पनीहरूले चीनभित्र व्यापार गर्न तथा चिनियाँ कम्पनीहरूसँग कारोवार गर्न पाउने छैनन्।
चीनले अमेरिकालाई निर्यात गरिने दुर्लभ खनिजहरूमा समेत कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी खनिजहरू इलेक्ट्रिक कार, स्मार्ट बम तथा विभिन्न अत्याधुनिक प्रविधिहरूमा प्रयोग हुने गर्छन्, जसको उत्पादन लगभग पूणरुपमा चीनमै सीमित छ। साथै, चिनियाँ भन्सार निकायले केही अमेरिकी कृषि उत्पादकहरूबाट कुखुरा आयात रोक्ने निर्णय गरेको छ।
ट्रम्प प्रशासनको नीतिले अन्तर्राष्ट्रिय व्यापारमा असर पुर्याउँदै अन्य देशहरूलाई पनि प्रतिक्रिया दिन बाध्य बनाएको छ। क्यानडाले अमेरिकी गाडीहरूमा २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको छ भने फ्रान्सले अमेरिकामा हुने लगानी रोक्ने निर्णय गरेको छ। साथै, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले ट्रम्पलाई युरोपेली युनियनमाथि लगाइएको २० प्रतिशत भन्सार कर हटाउन दबाब दिएका छन्।
चीनका तीन छुट्टाछुट्टै सरकारी निकायहरूले केही मिनेटको अन्तरमै यी घोषणाहरू जारी गरेका थिए, जसले चीन कुनै पनि हालतमा पछाडि हट्न तयार नभएको स्पष्ट संकेत गर्छ। चीन र अमेरिकाबीचको व्यापार युद्ध झन् चर्किंदै गएको संकेत यस निर्णयबाट देखिन्छ।

