वीरगन्ज,२३ चैत । वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) ले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क कम्प्युटर सीप तालिम प्रदान गर्ने घोषणा गरेको छ ।
वीरगन्ज महानगरपालिका – १४ चीनी मिल आवासीय क्षेत्रमा अवस्थित २५ वर्षको अनुभवसहित प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बीआइटी सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) सँग सम्बद्ध छ ।
बीआइटीले घोषणा गरेको तालिम कार्यक्रम विशेष रूपमा एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी डिजाइन गरिएको हो । तालिममा आधारभूतदेखि उन्नत स्तरसम्मका कम्प्युटर सीपहरू सिकाइने संस्थाले जनाएको छ ।
तालिममा एमएस अफिस (वर्ड, एक्सेल, पावरपोइन्ट), इन्टरनेट र इमेलको आधारभूत ज्ञान, ग्राफिक डिजाइन, कम्प्युटर ट्रबलसुटिङ र मेन्टिनेन्स लगायतका विषयहरू समावेश रहेको बीआइटीका प्रतिनिधि पवन बस्नेतले जानकारी दिए । त्यस्तै तालिममा अन्य उपयोगी सीपहरू पनि सिकाइने संस्थाले जनाएको छ ।
तालिम पूर्ण रूपमा निःशुल्क रहेको बस्नेतले जानकारी दिए । इच्छुक विद्यार्थीहरूले तुरुन्तै दर्ता गर्न संस्थाले आह्वान गरेको छ । दर्ता वा थप जानकारीका लागि ०५१-५२८०२० वा ९८५५०२०६९९ मा सम्पर्क गर्न सकिने छ ।
बीआइटी तालिममार्फत विद्यार्थीहरूलाई डिजिटल युगमा आवश्यक पर्ने प्राविधिक सीपहरू प्रदान गरी उनीहरूको शैक्षिक र व्यावसायिक भविष्यलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । अवसरले स्थानीय विद्यार्थीहरूलाई आफ्नो सीप अभिवृद्धि गर्न र भविष्यमा राम्रो अवसर प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




