काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको र आफूले संविधानको आधार देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटसमाध्यमबाट ढकालले रविको सम्भावित प्रधानमन्त्री बन्ने प्रयास, कांग्रेसको प्रस्ताव, र आन्तरिक राजनीतिक रणनीतिबारे विस्तृत धारणा सार्वजनिक गरेका हुन्।
ढकालका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले–रास्वपा गठबन्धन बनाएपछि कांग्रेस प्रतिपक्षमा गएको थियो। त्यसपछि कांग्रेसले रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको थियो। तर ढकालले संविधानको धारा १००(२) उल्लेख गर्दै यस्तो कदम रास्वपाका लागि घातक हुन सक्ने भन्दै रोक्नुपर्ने तर्क गरेका थिए।
“रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए। कसरी सत्ता छाड्ने र कांग्रेससँगको सहकार्यलाई ‘स्वाभाविक’ देखाउने रणनीतिक जिम्मेवारी मलाई आएको थियो,” ढकालले स्टाटसमा उल्लेख गरेका छन्।
ढकालले ३० दिनको संविधानिक अवधि, कांग्रेसको अस्थिरता, र विश्वासको मत लिने सम्भाव्यताको सन्दर्भ दिँदै रास्वपाका लागि जोखिमपूर्ण निर्णय हुन सक्ने देखिएको बताए।
भर्खरै भएको घटनामा रवि लामिछानेले प्रहरीसमक्ष आफू “प्रधानमन्त्री पद छोडेर हिंडेको” बताएका थिए। यसबारे ढकालले व्यंग्य गर्दै भनेका छन् – “इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन। त्यसैले प्रधानमन्त्री पद त्यागेको भन्ने दाबी निराधार हो।”
उनले सबै संविधानिक, राजनीतिक समीकरण तथा तत्कालीन समाचार रिपोर्टलाई आधार मानेर रास्वपाले चालेका कदमबारे स्पष्टता दिएको बताए।
फेसबुक स्टाटसमा ढकालले रवि लामिछानेलाई लक्षित गर्दै लेखेका छन् – “राजनीतिक पार्टीभित्र हुने आन्तरिक छलफललाई पटक–पटक सार्वजनिक गरेर रवि दाइले अराजनीतिक चरित्र देखाएका हुन्। म त केवल सत्य के हो भन्ने जनतालाई बताइरहेको हुँ।”

