काठमाडाै,०६ असार । बजेटअघि मुस्ताङ र रसुवा नाकाबाट भएको सवारीसाधन आयातबारे गरिएको अध्ययनमा मुस्ताङ कोरला नाकाबाट भित्रिएका गाडीमा कुनै गडबडी नभएको पाइएको छ भने रसुवा नाकाबाट आयात भएका केही सवारीमा अनियमितता देखिएको भन्सार विभागले जनाएको छ।
मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदन अनुसार १२ र १३ जेठमा कुल ६ सय ४९ वटा विद्युतीय सवारीसाधन भन्सार घोषणा गरी ९ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रिया अघि बढाइएको थियो। ती सबै सवारीसाधन १४ जेठभित्र नेपाल प्रवेश गरी कानुनी प्रक्रिया पूरा गरेर जाँचपास भइसकेको विभागको निष्कर्ष छ।
सीसीटीभी फुटेज, कार्यालय अभिलेख तथा स्थलगत अध्ययनसमेतका आधारमा मुस्ताङ नाकाबाट सवारी आयातमा कुनै अनियमितता नभएको स्पष्ट भएको विभागले जनाएको छ।
तर, रसुवा भन्सार कार्यालयमा भने केही सवारीसाधन भौतिक रूपमा भन्सारमा नआइपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको पाइएको छ। अनुगमन टोलीले प्रज्ञापनपत्र र अभिलेख अध्ययन गर्दा पर्याप्त सावधानी नअपनाइएको र पदीय जिम्मेवारी पूरा नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
यसै आधारमा अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही अघि बढाएको जनाएको छ।
त्यसैगरी, लक्ष्मी ई–मोबिलिटी, साइमेक्स इन्क, सीजी मोटर्स, पूजा इन्टरनेसनल र पूजा कन्स्ट्रक्सन नेपाल प्रालि लगायतका आयातकर्तामाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै केही भन्सार एजेन्टहरूलाई समेत आवश्यक कारबाहीका लागि सिफारिस गरिएको विभागले जनाएको छ।
बजेटअघि कर दरसम्बन्धी सूचना चुहावट गरी सवारी आयात गरिएको आशंकापछि भन्सार विभागले छुट्टाछुट्टै समिति गठन गरी अध्ययन गरेको थियो। सोही अध्ययन प्रतिवेदनका आधारमा रसुवामा अनियमितता पुष्टि भएको हो।




