काठमाडाै,०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिस झाले पार्टीको पहिलो महाधिवेशनका लागि उद्योगी–व्यापारीबाट कुनै प्रकारको चन्दा संकलन नगरिएको स्पष्ट पारेका छन्।
चितवनको भरतपुरमा हुने महाधिवेशन स्थल निरीक्षणका क्रममा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै झाले व्यापारिक घरानामा रसिद पठाएर चन्दा उठाउने पुरानो राजनीतिक अभ्यासको अन्त्य गरिएको बताए।
उनका अनुसार महाधिवेशन सञ्चालनका लागि करिब रु ४ करोड खर्च अनुमान गरिएको छ, जसको स्रोत पार्टीका सांसद, केन्द्रीय सदस्य, विभिन्न विभागका सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट उठाइने लेवी हुने छ। उनले सांसदबाट मासिक लेवीमार्फत करिब रु ३२ लाख संकलन हुने र केन्द्रीय सदस्य तथा अन्य संरचनाबाट पनि नियमित योगदान आउने जानकारी दिए।
झाका अनुसार महाधिवेशन प्रतिनिधिबाट मात्रै करिब डेढ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। साथै, शुभेच्छुकहरूका लागि आन्तरिक रूपमा क्यूआर कोडमार्फत सहयोग संकलनको व्यवस्था गरिएको पनि उनले बताए।
उनले रास्वपामा संलग्न अधिकांश व्यक्तिहरू वैकल्पिक पेसामा सक्रिय भएकाले पार्टी सञ्चालनका लागि चन्दा माग्नुपर्ने अवस्था नरहेको दाबी गरे। यातायात, आवास तथा अन्य व्यवस्थापन स्वयं पार्टीकै स्रोत र सदस्यहरूले नै गर्ने उनको भनाइ छ।
‘राजनीतिमा आउने व्यक्तिसँग वैकल्पिक पेसा हुनुपर्छ, त्यसैले हामीले व्यापारिक घरानामा रसिद पठाएर चन्दा माग्ने अभ्यास बन्द गरेका हौं,’ झाले भने। उनले राजनीतिक दलहरूले व्यवसायीबाट चन्दा लिँदा स्वार्थको सम्बन्ध बन्न सक्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने आवश्यकता समेत औंल्याए।
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुँदैछ।




