काठमाडाै,०६ असार । वित्तीय प्रणालीमा अधिक तरलता बढ्दै जाँदा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबीच कर्जा ग्राहक तान्ने प्रतिस्पर्धा तीव्र बनेको छ। घट्दो ब्याजदरको फाइदा उठाउँदै एक बैंकका ऋणीलाई अर्को बैंकमा सार्ने प्रवृत्ति बढ्न थालेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा करिब १३ खर्ब रुपैयाँ कर्जा लगानीयोग्य रकम थुप्रिएको छ, जसमध्ये १० खर्ब ९३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमै निष्क्रिय अवस्थामा रहेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म निजी क्षेत्रमा प्रवाह भएको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ५६ अर्बले घटेर ३ खर्ब १२ अर्बमा सीमित भएको छ।
कर्जाको माग कमजोर भएको अवस्थामा बैंकहरू आधार दरमै कर्जा उपलब्ध गराउँदै ग्राहक तान्ने रणनीतिमा पुगेका छन्। बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरूका अनुसार निक्षेपमा आउने रकमलाई नियामकीय व्यवस्थाअनुसार निश्चित न्यूनतम ब्याज दिनुपर्ने बाध्यता रहेकाले लागत घटाउने ठाउँ सीमित भएको छ।
हाल वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशत रहेको छ भने कर्जाको औसत ब्याजदर ६.७३ प्रतिशत कायम छ। तरलता उच्च भए पनि कर्जा विस्तार कमजोर हुँदा बैंकहरूबीच प्रत्यक्ष प्रतिस्पर्धा बढेको बैंकरहरूको भनाइ छ।
केही बैंकहरूले अन्य बैंकमा रहेका ठूला ऋणीलाई ब्याजदर घटाएर आफूतर्फ आकर्षित गर्ने प्रयास गरिरहेको देखिएको छ। बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार यस्तो अभ्यासले वित्तीय बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाउने र दीर्घकालीन रूपमा जोखिम सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने ग्राहकको असन्तुष्टि र सेवा–शर्तका कारण कर्जा स्थानान्तरण हुने गरेको बताए। उनका अनुसार केही कन्सोर्टियम कर्जा स्थानान्तरण भए पनि यसलाई सामान्य रूपमा लिन सकिने अवस्था छ।
त्यस्तै, बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हाल बैंकहरू कर्जा विस्तारभन्दा असुलीमा केन्द्रित रहेको बताउँदै व्यापक रूपमा कर्जा तान्ने गतिविधि भइरहेको भन्ने निष्कर्ष निकाल्न हतार हुने धारणा राखेका छन्।
अर्थतन्त्रमा कर्जाको माग कमजोर रहँदा बैंकहरूबीच प्रतिस्पर्धा बढ्नुले उद्योगी–व्यवसायीलाई त फाइदा पुग्ने देखिए पनि बैंकिङ प्रणालीमा दीर्घकालीन असन्तुलन निम्त्याउन सक्ने विश्लेषण गरिएको छ।




