काठमाडाैं, २५ चैत्र । अभिनेत्री एनी कुँवरलाई तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा पत्रकार सुरेश रजकको जलिएको घरमा कुँवरले ताला लगाइरहेको दृश्य देखिएको भिडियो भाइरल भएपछि उनी प्रहरी निगरानीमा परेकी हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार अभिनेत्री कुँवरलाई अनुसन्धानका लागि ललितपुरबाट पक्राउ गरिएको हो। उनलाई प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोप लागिएको छ।
तीनकुनेमा आगजनी भएको घटनापछि कुँवरले फेसबुक लाइभ गर्दै “बचाउन आउनुहोला” भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्। अभिनय यात्रा ‘ब्रह्मा’ फिल्मबाट सुरु गरेकी एनी कुँवर पछिल्लो समय सामाजिक तथा राजनीतिक मुद्दामा समेत सक्रिय हुँदै आएकी छिन्।
प्रहरीले अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

