काठमाडौं, २६ चैत । शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानीमा आन्दोलनरत शिक्षक–कर्मचारीहरूले अनौठो शैलीमा सरकारलाई चेतावनी दिएका छन्।


बानेश्वर–बबरमहल सडक खण्डमा जम्मा भएर उनीहरूले दिउँसो मोबाइल र हेड ल्याम्पको टर्च बाल्दै सांकेतिक विरोध प्रदर्शन गरेका छन्। ‘अन्धकारमा छ सरकार’ भन्ने सन्देशसहित उनीहरूले तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नारा लगाएका थिए।
प्रदर्शनका क्रममा सो क्षेत्रमा व्यापक संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। आन्दोलनले सडक यातायात प्रभावित भएको छ।

शिक्षा क्षेत्रको सुधार, शिक्षक–विद्यार्थीमैत्री ऐन निर्माण र गुणस्तरीय शिक्षाको माग गर्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक आन्दोलनमा छन्।
चैत २० गतेदेखि काठमाडौंमा निरन्तर आन्दोलन गर्दै आएका उनीहरूले २५ गतेदेखि आम शैक्षिक हड्ताल सुरु गरेका छन्। आन्दोलनका कारण एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रक्रिया समेत अवरुद्ध भएको छ, जसले नतिजा प्रकाशनमा ढिलाइको संकेत देखिएको छ।
यसअघि शिक्षकहरूले कालोपट्टी बाँध्ने, सिट्टी फुक्ने, सडकमा सुतेर विरोध जनाउनेजस्ता शैली अपनाइसकेका छन्। आजको ‘टर्च प्रर्दशन’ उनीहरूको आन्दोलनको नयाँ रचनात्मक तरिका बनेको छ।