भारतमा नक्कली हृदयरोग विशेषज्ञको रूपमा काम गर्ने व्यक्ति पक्राउ

spot_img

नयाँदिल्ली, चैत २६ । भारतको मध्य प्रदेशस्थित एक निजी अस्पतालमा लन्डनको प्रतिष्ठित कार्डियोलोजिस्टको छद्म पहिचानमा काम गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि ठगी र जालसाजीको आरोपमा कारबाही सुरु भएको छ।

प्रहरीका अनुसार, ‘नरेन्द्र जोन क्याम’ नामले परिचित व्यक्तिले चर्चित ब्रिटिश हृदयरोग विशेषज्ञ प्रो. जोन क्यामको नाम र पहिचान दुरुपयोग गर्दै मिसन अस्पतालमा शल्यक्रिया गर्दै आएका थिए। यही अस्पतालमा एन्जियोप्लास्टी गरिएका सात बिरामीको मृत्यु भएपछि अनुसन्धान अघि बढेको थियो।

मध्य प्रदेश प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले बताएअनुसार, “पक्राउ परेका व्यक्तिको कागजातहरू नक्कली थिए। उनलाई ठगी र नक्कली चिकित्सकको आरोपमा पक्राउ गरिएको हो।”

स्थानीय मिडिया रिपोर्टहरू अनुसार, सो व्यक्तिले लन्डनको सेन्ट जर्जेस युनिभर्सिटीका प्रोफेसर जोन क्यामको नाम र पहिचान प्रयोग गर्दै आएका थिए। वास्तविक प्रोफेसर क्यामले एएफपीलाई दिएको प्रतिक्रिया अनुसार, उक्त घटनाले उनलाई अत्यन्तै चिन्तित बनाएको छ।

“मैले यसबारे पाँच वर्षदेखि सचेत गराउँदै आएको हुँ, तर कानुनी कारबाहीमा निकै ढिलाइ भयो,” उनले भने। क्यामका अनुसार भारतीय चिकित्सक समाजले पनि उक्त व्यक्ति नक्कली भएको प्रमाणित गरेको थियो।

घटनाले थप चासो तब खिच्यो जब एक मृतक बिरामीका छोराले उजुरी दर्ता गरे। “मेरी आमाको मृत्यु भएको दिन डाक्टर फरार भए,” उनले भारतीय मिडिया NDTV सँग भने।

भारतमा ग्रामीण तथा अशिक्षित समुदायमा नक्कली चिकित्सकद्वारा उपचार गरिने समस्या दीर्घकालीन रहेको छ। पछिल्ला वर्षहरूमा सरकारी निकायहरूले यस्ता ठगी घटनाविरुद्ध व्यापक अभियान चलाउँदै आएका छन्।

मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लाले दोषी पुष्टि भएमा कडा कारबाही हुने चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय