काठमाडौं, २९ चैत्र । भारतको बिहार राज्यमा आएको भीषण आँधीबेहरी र चट्याङका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बिहीबार राति आएको प्राकृतिक विपत्तिले राज्यका धेरैजसो जिल्लामा जनधनको ठूलो क्षति पुर्याएको हो।
बिहार मुख्यमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सबैभन्दा बढी क्षति नालन्दा जिल्लामा भएको छ, जहाँ १८ जनाले ज्यान गुमाएका छन्। अन्य मृत्यु सिवानमा २ जना, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर र जेहानाबादमा १–१ जना रहेका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार नालन्दामा मात्रै ६ जनाको मृत्यु रूख ढलेर भएको बताइएको छ। आँधीले दर्जनौं घर टहरा उडाएको र विद्युत सेवा अवरुद्ध भएको छ।
मुख्यमन्त्री नीतीश कुमारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारलाई प्रति परिवार ४ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। उनले राज्य विपद् व्यवस्थापन विभागलाई तत्काल राहत र उद्धार कार्यमा खटिन निर्देशनसमेत दिएका छन्।
सरकार पीडित परिवारलाई आवश्यक सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

