spot_img

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायरको तयारी

spot_img
spot_img

काठमाडौं, २९ चैत्र । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ ।

प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।

प्रहरी स्रोतका अनुसार, उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी छ ।प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइँदै छ ।गत १५ गते तीनकुनेमा भएको प्रदर्शनयता फरार रहेका प्रसाईंलाई बिहीबार राति प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।

यसैबीच नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंमाथि सुरक्षाकर्मीमाथि ज्यान लिने नियतसहित गाडी चलाएको आरोप लगाएका छन्।प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै बर्तौलाले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकार दृढ हुनुपर्ने धारणा राखे। “त्यहाँ ठूलो मानवीय क्षति हुन सक्थ्यो भन्ने भिडिओबाट स्पष्ट देखिन्छ,” उनले भने।

त्यसक्रममा बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामाथि पनि प्रश्न उठाए । उनका अनुसार, फागुन ७ मा पूर्वराजाले जनतालाई साथ दिन आग्रह गरेपछि राजावादी आन्दोलनले गति लिएको हो। “उहाँले आह्वान गर्नुभयो, त्यसपछि आन्दोलन सुरु भयो, तर त्यसयता उहाँ मौन हुनुहुन्छ,” बर्तौलाको टिप्पणी थियो।

हाल प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगलगायतका मुद्दामा अनुसन्धान भइरहेको छ भने उनीमाथिको भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय