काठमाडौं, ३० चैत्र । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको छ। पोल स्थानान्तरण, कन्डक्टर स्तरोन्नति र भूमिगत लाइन बिछ्याउने कामका कारण विभिन्न फिडरअन्तर्गत विद्युत् कटौती गरिने भएको हो।
काठमाडौंमा बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
त्यस्तै, रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल, विश्वज्योति हल, यलो पगोडा, अन्नपूर्ण होटल र निर्वाचन आयोग क्षेत्रमा बिहान ७ देखि १० बजेसम्म विद्युत् सेवा कटौती हुनेछ।
ललितपुरतर्फ, लगनखेल वितरण केन्द्रको इमाडोल–२ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, टिकाथली, लुभु क्षेत्रमा दिउँसो २:३० देखि ३:३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
यसैगरी, जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी र नटोल क्षेत्रमा दिउँसो १ देखि ४ बजेसम्म, रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, एभिएम चोक, कुसुन्ती, नखिपोटलगायत क्षेत्रमा बिहान ११ देखि १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले काम छिटो सम्पन्न भएमा तोकिएको समयभन्दा अगाडि नै विद्युत् आपूर्ति पुनः सुचारु हुन सक्ने जनाएको छ।




