ललितपुर, ३० चैत्र । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी आठ वर्षीया छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेका छन्। मृतक महर्जनको परिवारको कमजोर आर्थिक अवस्था थाहा पाएपछि कोषाध्यक्ष श्रेष्ठले मानवीय आधारमा सहयोग गर्न आफूले जिम्मेवारी लिएको बताए।
श्रेष्ठका अनुसार बालिकालाई कीर्तिपुरस्थित ल्याबोरेटरी स्कूलमा पूर्ण छात्रवृत्तिमा पढाउने व्यवस्था गरिसकिएको छ। विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका प्रमुखसँगको सहमतिपछि यो निर्णय सार्वजनिक गरिएको हो। “अभिभावक गुमाएकी नाबालिकालाई राम्रो विद्यालयमा शिक्षाको अवसर दिलाउने प्रयास हो यो,” श्रेष्ठले भने।
श्रेष्ठले आफू लामो समयदेखि शैक्षिक क्षेत्रमा संलग्न रहँदा धेरै विद्यार्थीलाई सहयोग गर्दै आएको र अहिलेको यो सहयोग पनि त्यही क्रमको मानवीय निरन्तरता भएको बताए। नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले मृतकका परिवारको अवस्था बारे जानकारी गराउँदै सहयोगको अनुरोध गरेपछि उनले पहल गरेको जनाए।

